मितिः ३ मंसीर २०७४

सिविन–नेपालको ३०औं वार्षिकोत्सव, नेपालको बालअधिकार आन्दोलनको तीन दशक एवं अन्तर्राष्ट्रिय बालअधिकार दिवस, नोभेम्बर २० को पूर्वसन्ध्यामा सिविन–नेपालका तर्फबाट देशका सम्पूर्ण बालबालिकाको सुस्वास्थ्य, दीर्घ जीवन एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

आजभन्दा ३० वर्ष अगाडि सन् १९८७ मा गौरी प्रधानको नेतृत्वमा सिविन–नेपालको गठन गरी बालबालिकाको मानवअधिकारको कुरा गर्दा यो विषय सबैका लागि सर्वथा नौलो विषय जस्तो भएको थियो । बालबालिकाका सम्बन्धमा देशमा कुनै ऐन, कानुन थिएनन् । अवधारणागत अस्पष्टता रहेको त्यस बेला बालबालिकाका मुद्दालाई सम्बोधन गर्ने कुनै निकाय तथा संरचना त हुने कुरै भएन । तर यस तीन दशकका दौरान बालअधिकारको विषय एउटा राष्ट्रिय तथा आम सरोकारको विषयको रुपमा रुपान्तरित भएको छ । 

बालअधिकारका दृष्टिकोणले देशमा आएका यी सकारात्मक परिवर्तनहरुमा सुरुका दिनदेखि अहिलेसम्म संलग्न र जीवन्त साक्षीका रुपमा आफूलाई पाउँदा सिविन–नेपाल गौरवान्वित महशुस गर्दछ । यस तीस वर्षको दौरानमा सिविन–नेपाल कमसेकम १० लाग बालबालिकासमक्ष प्रत्यक्ष रुपमा पुगी सहकार्य गर्दै बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणको निम्ति काम गर्न सफल भएको छ । 

एउटा संस्थाको जीवनमा बालअधिकार आन्दोलनको बिजारोपण गर्दै तीन दशकदेखि सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नु सजिलो कुरा होइन । सिविन–नेपालको यस प्रकारको नेतृत्वदायी क्रियाशीलताको श्रेय बालबालिकासँग काम गर्दाका हाम्रा सिकाईहरु र बालबालिका स्वयम्लाई नै जान्छ । हाम्रा लागि बालबालिका सदैब प्रेरणा स्रोतका रुपमा रहँदै आएका छन् । 

तीन दशकमा भएका थुप्रै सकारात्मक परिवर्तनका बावजुद बालबालिका विरुद्धमा विभिन्न स्वरुपका शोषण, विभेद तथा उपेक्षाहरु अझ पनि बाँकी नै छन् । हामी यस प्रकारका बालअधिकार हनन्का घटनाहरुको विरुद्ध क्रियाशील रहँदै संविधानका भावनालाई व्यवहारमा रुपान्तरण गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग निकट रही आफ्ना गतिविधिहरु सञ्चालन गर्न हामी कटिबद्ध रहनेछौं । 

अन्तमा सिविन–नेपालको तीन दशकदेखिको निरन्तरको यात्रामा साथ दिने बालबालिका लगायत सबै सरोकारवालाहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । 

 

कुमार भट्टराई

प्रवक्ता, सिविन नेपाल