श्याम खतिवडा/नयाँ पत्रिका दोलखा (चिलंखा), २३ फागुन |

नर्वे सरकारका विकासमन्त्री निकोलाई अस्ट्रुप आज दोलखाको बिगु गाउँपालिकास्थित चिलंखा गाउँमा पुगेका छन् । नर्वे सरकारको सहयोगमा बनेका झण्डै २ दर्जन विद्यालय भवनको अनुगमन र नेपाल सरकारले सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी)को प्रभाबकारिता बारे अध्ययन गर्न मन्त्री अस्ट्रुप चिलंखा पुगेका हुन् । २ महिना अघिमात्र नर्बे सरकारको विकास मन्त्री बनेका निकोलाई अस्ट्रुपको यो पहिलो अन्तराष्ट्रिय भ्रमण रहेको बताइएको छ ।

मन्त्री अस्ट्रुपले नर्बे सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएको चिलंखास्थित देबिटार आधारभुत विद्यालयको भवन उद्घाटन गर्दै शिक्षा क्षेत्रलाई बलियो बनाउन सकेमात्र देश बलियो बन्ने बताए । उनले भुकम्पका कारण नेपालले ठुलो क्षती ब्यहोरेकोमा दुःख ब्यक्त गर्दै नर्बे सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् । उनले नेपालमा लामो समयदेखि शिक्षाको विकासका लागि नर्बेले आवश्यक सहयोग गरिरहेको उल्लेख गर्दै आवश्यकताको आधारमा थप सहयोग गर्न आफुहरु तयार रहेको जनाए । नर्वेको सहयोगमा दोलखाका २ वटा गाउँपालिका कालिञ्चोक र बिगु भित्र पर्ने साबिकका ८ गाविसहरुमा १३ वटा सामुदायिक विद्यालयका सबै भौतिक संरचना निर्माण गरिसकेको र बाँकी ९ वटा सामुदायिक विद्यालयको पुनर्निमाण भैरहेको साझेदार संस्था टुकि सिविनका कार्यक्रम संयोजक रबिन्द्र पराजुलीले जानकारी दिए ।

मन्त्री अस्टु्रपले नर्वेको सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडीपी) को प्रभाबकारिता सम्बन्धी कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकाका जनप्रतिनिधि र दोलखाका सरकारी निकायका प्रमुखहरुसँग अन्तरक्रिया गरेका छन् । जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सम्बन्धमा आवश्यक परामर्शसहितको छलफल चलाइरहेको बिगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले जानकारी दिए । कार्यक्रममा दोलखाका प्रदेश सभा सदस्य पशुपती चौलागाई, जिल्ला समन्वय समितिका प्रमुख लगाएतको पनि सहभागिता थियो ।

विकास मन्त्री अस्ट्रुप सँगै नर्बेजियन राजदुताबासका सिनियर कर्मचारी कुटनीतिक नियोगका पदाधिकारी संलग्न रहेको विद्यालय भवन निर्माणको साझदार संस्था सिविन नेपालका प्रवक्ता कुमार भट्टराइले जानकारी दिए । मन्त्री अस्ट्रुपले आज नर्वे सरकारको लगानीमा निर्माण भएको ६० मेगावाट क्षमताको खिम्ती हाइड्रोपावरको अवलोकन समेत गरेका थिए । अस्ट्रुप सवार हेलिकप्टरलाई नेपाली शेनाले स्कटिङ गरेको थियो । उनी आजै राजधानी फर्किएका छन् ।

Source: http://www.enayapatrika.com (2018/03/07)